आइसिसी विश्वकप लिग–२ : नेपाल नेदरल्यान्डस्‌सँग पनि पराजित

काठमाडौं । आइसिसी पुरुष विश्वकप लिग–२ अन्तर्गत आइतबार भएको खेलमा नेपाल नेदरल्यान्डस्‌सँग ८ विकेटले पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्यान्डस्‌ले ३७.५ ओरभमै दुई विकेट गुमाएर पूरा गरेको हो। यसअघि नेपाल नामिबियासँग पराजित भएको थियो।

नेदरल्यान्डस्‌का लागि विक्रमजित सिंहले अर्धशतक प्रहार गरे। उनले ९२ बलमा सात चौका प्रहार गर्दै ५८ रन बनाए। त्यस्तै, सिब्रान्ड इगलमिचले ४६, मिचेल लेभिटले ३९ र म्याक उडले २८ रन बनाए। प्रारम्भिक ब्यारले ६१ रनको साझेदारी गरेपछि नदरल्यान्डस्ले सजिलै जित हासिल गरेको हो। नेपालका लागि ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले एक(एक विकेट लिए। अन्य बलर महंगा सावित भए।

यसअघि ब्याटिङ गरेको नेपालले ४९।३ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाएको थियो। नेपालका लागि कुशल भुर्तेलले ६६ रन बनाए। उनले ९३ बलमा आठ चौका प्रहार गरे। त्यस्तै, करण केसीले २६, आरिफ शेखले २२, आसिफ शेखले १७ र रोहित पौडेलले १६ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्। नेदरल्यान्ड्सका लागि भिभियन किंमा र आर्यन दत्तले तीन(तीन, भास डे लीडले दुई र रिलोफ भानले एक विकेट लिए।

लिग २ अन्तर्गत कीर्तिपुरमा भएको त्रिदेसीय शृङ्खलामा नेपालको प्रदर्शन राम्रो रहेन। प्रतियोगिताका चार खेलमा नेपालले दुई खेल मात्रै जित्न सक्यो।त्यस्तै, नेदरल्यान्डस्‌ले चारमध्ये तीन खेल जितेर ६ अंक जोडेको छ। नामिबियाले पनि तीन खेल जितेर ६ अंकसहित रनरेटका आधारमा शीर्षस्थानमा छ। नेपालको भने दुई खेलमा चार अंक भएको छ। लिग २ मा नेपाल, नेदरल्यान्डस्‌, नामिबियासँगै क्यानडा, ओमन, स्कटल्यान्ड, युएई र अमेरिका छन्। आठै देशले एक(अर्कासँग प्रतिस्पर्धा गर्नेछन्।


Recommended For You