काठमाडौं । त्रिकोणात्मक टी–२० शृंखलाको दोस्रो खेलमा नेपालले बरोडाविरुद्ध १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ । मंगलबार भारतको वापीमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनको योगफल खडा गरेको हो ।
नेपालका कुशल मल्लले अविजित २५ बलमा ४० रन बनाए । सन्दीप जोराले १६ बलमा २९ रन थपे । ८२–५ को अवस्थाबाट यी दुईले छैटौँ विकेटका लागि ४७ रनको साझेदारी गर्दै नेपाललाई प्रतिस्पर्धात्मक योगफलसम्म पु¥याएका हुन् । यसबाहेक, अनिलकुमार साहले २५, कप्तान रोहितकुमार पौडेलले १८ र गुल्सनकुमार झाले १३ रन थपे । ओपनरद्वय कुशल भुर्तेल र आसिफ सेख भने समान नौ रनमा आउट भएका थिए ।
बरोडाका बाबा खनाले दुई विकेट लिए । मोहित मोगिन्या र परिक्षित पटिदरले समान एक विकेट लिए । एसिसी प्रिमियर कप र टी–२० विश्वकपको तयारीका निम्ति हाल भारतमा रहेको नेपालले त्यहाँ बरोडा र गुजरातसँग त्रिकोणात्मक शृंखला खेल्ने तालिका छ । यसअघि शृंखलाको पहिलो खेलमा नेपालले गुजरातविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो ।
