नेपालद्वारा गुजरातलाई १७७ रनको लक्ष्य

काठमाडौं । कप्तान रोहित कुमार पौडेलको अर्धशतमा नेपालले गुजरातलाई १७७ रनको लक्ष्य दिएको छ। आइसिसी विश्वकप २०२४ को तयारीका लागि भारतमा गुजारतमा एसएमस फ्रेन्डसिप कप खेलेको नेपालले आइतबार फाइनलमा टस जितेर पहिले ब्याटिङ गर्दै ४ विकेटको क्षतिमा १७६ रन जोडेको हो।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ गरे। उनले ७४ रनको योगदान गरे। रोहितले ४७ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। ओपनरद्वय कुशल भुर्तेलले १९ रन र आसिफ शेखले ३४ रन बनाए। दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट हुँदा कुशल मल्लले १३ बलमा नटआउट ३१ रन जोडे। कुशलले २ चौका र २ छक्का प्रहार गरे। सन्दीप जोराले ३ बल खेल्दा १ चौका प्रहार गर्दा नटआउट ७ रन बनाए।

सिरिजको फाइनल खेलमा नेपाली टिममा अघिल्लो खेल खेलेका चार खेलाडी परिवर्तन गरिएको छ। जसमा आकास चन्द, प्रतिश जिसी, ललित राजवंशी र अनिल साह टिममा छैनन्। खेलमा रोहित पौडेल, सोमपाल कामी, अभिनास बोहरा र आसिफ शेख टिममा फर्किएका छन्। नेपाली टिम ः रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुल्सन झा, अभिनास बोहरा।

यसअघि नेपाली टिमले लगातार तीन खेल जितेर फाइनलमा स्थान बनाएको थियो। नेपालले गुजरातलाई दुवै खेलमा हराउँदा बरोडाविरुद्धको पहिलो खेल पनि जितेको थियो। बरोडाविरुद्धको दोस्रो खेलमा भने नेपाल पराजित भएको थियो। नेपाली टिम भारतमा तयारी गरेपछि उतैबाट एसिसी प्रिमियर कप खेल्नका लागि ओमान जाने कार्यक्रम छ। टी–२० विश्वकप आगामी जेठ दोस्रो सातादेखि अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ।


Recommended For You