एसिसी प्रिमियर कप : नेपालले टस जितेर कतारविरुद्ध पहिले ब्याटिङ गर्दै

काठमाडौं । ओमानमा जारी एसिसी प्रिमियर कप २०२४ को आफ्नो दोस्रो खेलमा नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । ओमानको अल अमरेत क्रिकेट मैदान–१ मा सुरु भएको छ । खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो ।

कतार भने पहिलो खेलमा हङकङसँग पराजित भएको थियो । कतारविरुद्ध खेल्ने नेपाली टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, विवेक यादव, अविनाश बोहरा, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी,कुशल मल्ल र आसिफ शेख रहेका छन् । नेपालले शनिबारको खेलमा करण केसीको ठाउँमा विवेक यादवलाई खेलाउने भएको छ ।

नेपाली ब्याटरलाई आजको खेलमा आक्रामक क्रिकेट खेल्न आवश्यक देखिन्छ । दीपेन्द्रसिंह ऐरी नेपालका प्रमुख हतियार हुन् । उनको अलराउन्ड प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । उता कतारका कप्तान मोहम्मद तनवीर प्रमुख हतियार हुन् । उच्च लयमा रहेका तनवीरको विकेट समयमै लिन आवश्यक देखिन्छ । कतारको शीर्षक्रम ब्याटिङ मजबुत छ ।

नेपाल र कतारबीच हालसम्म एक मात्रै टी–२० आई खेल भएको छ । आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल २०१९ मा नेपालले दिएको १२३ रनको लक्ष्य कतारले १९.२ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । १० टोली सहभागी यस प्रतियोगिता विजेताले टी–२० एसिया कप खेल्न पाउनेछ ।


Recommended For You