एसिसी प्रिमियर कप : दीपेन्द्रको कीर्तिमानी प्रदर्शनमा नेपालको शानदार लगातार दोस्रो जित

काठमाडौं । दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी प्रदर्शन गरेपछि नेपालले कतार विरुद्धको खेलमा शानदार लगातार दोस्रो जित हासिल गरेको छ। एसिसी प्रिमियर कपअन्तर्गत शनिबार ओमनको अल अमिरत क्रिकेट मैदानमा भएको खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको हो। नेपालले दिएको २११ रनको लक्ष्य पछ्याउने क्रममा कतारले १७८ रन मात्रै बनाउन सक्यो।

कतारका लागि कप्तान मोहम्मद तनवीरले अर्धशतक प्रहार गरे। उनले ३३ बलमा ६ चौका र चार छक्का प्रहार गर्दै ६३ रन बनाए। कतारका अन्य खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेनन्। मोहम्मद अहनफले २३, अड्नम मिर्जाले १९ र कम्रान खानले १८ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्। नेपालका लागि ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले दुई(दुई तथा अविनाश बोहराले एक विकेट लिए।

यसअघि ब्याटिङ गरेको नेपालले सात विकेटको क्षतिमा २१० रन बनाएको थियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले एकै ओभरमा ६ छक्का प्रहार गरेर कीर्निमान बताए। एकै ओभरमा ६ छक्का प्रहार गर्ने उनी नेपालको पहिलो र संसारको तेस्रो ब्याटर हुन्। यसअघि दक्षिण अफ्रिकाका हस्र्सेल गिब्स र भारतका युवराज सिंहले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए। गिब्सले सन् २००७ को विश्वकपमा नेदरल्यान्ड विरुद्ध र सिंहले सन् २००७ कै टी(२० विश्वकपमा इङ्ल्यान्ड विरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए।

ऐरीले अन्तिम ओभरमा ६ छक्का प्रहार गरेका हुन्। उनले २१ बलमा तीन चौका र सात छक्का प्रहार गर्दै ६४ रन बनाए। त्यस्तै, नेपालका लागि आसिफ शेखले पनि अर्धशतक प्रहार गरे। उनले ४१ बलमा ६ चौकाको मद्दतले ६४ रन बनाए। कुशल मल्लले ३५, रोहित पौडेलले १८ र कुशल भुर्तेलले १२ रन बनाएका थिए। कतारका लागि हिमांशु राथोड र मुसवर साहले तीन(तीन तथा अमिर फरूकले एक विकेट लिएका थिए।

यो जितसँगै नेपालको चार अंक जोडेर समूह ‘ए’को शीर्षस्थानमा उक्लिएको छ। यसअघि शुक्रबार मलेशियालाई पाँच विकेटले पराजित गरेको थियो। दोस्रो स्थानमा रहेको हङकङको दुई अंक छ। मलेशिया र कतारले अंक जोड्न सकेका छैनन् भने साउदी अरबले खेल्न बाँकी छ। त्यस्तै, समूह ‘बी’मा रहेको यूएई पनि चार अंकसहित शीर्षस्थानमा छ। कुवेत र ओमनको दुई(दुई अंक छ भने बहराइन र कम्बोडियाले अंक जोड्न सकेका छैनन्।  नेपालले अर्को खेलमा सोमबार बिहान ११ः४५ बजे हङकङसँग प्रतिस्पर्धा गर्नेछ।


Recommended For You