नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य

काठमाडौं । वेष्ट इन्डिज ‘ए’ ले नेपाली राष्ट्रिय टोलीलाई एक सय ६१ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा रोस्टन चेजको कप्तानीमा रहेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको हो । नेपाली स्पिनर चम्किएपछि वेष्ट इन्डिज कम योगफलमै रोकिएको हो । ३६ वर्षीय दायाँ हाते ब्याटर आन्द्रे डेभिड स्टेफन फ्लेचरले ३६ बलमा सर्वाधिक ४३ रन बनाएका हुन् । उनले चार चौका प्रहार गरे । प्लेचरले वेष्ट इन्डिजबाट २५ एकदिवसीय र ५४ टी–२० आई खेलिसकेका छन् ।

नवौं नम्बर क्रिजमा आएका गुडाकेश मातीले आक्रामक ब्याटिङ गर्दै आठ बलमा दुई चौका र चार छक्कासहित ३३ रन बनाएका हुन् । अन्तिम ओभरमा उनले दीपेन्द्रसिंह ऐरीलाई २२ रन हानेका हुन् । कप्तान रोस्टन चेजले २२ बलमा दुई चौका र एक छक्कासहित २३ रन बनाए । पहिलो खेलमा अर्धसतक बनाएका चेजलाई स्पिनर कुशल भुर्तेलले बोल्ड गरेका थिए । ओपनर जोनसन चार्लेसलाई ११ रन बनाएको अवस्थामा सागर ढकालले बोल्ड गरेका थिए । केयसी कार्टीले १० रन बनाउँदा कुशल भुर्तेलले कप्तान रोहित कुमार पौडेलबाट क्याच गराएका हुन् ।

किमो पउललाई ८ रन बनाएको अवस्थामा सोमपाल कामीले बोल्ड गरे । पउल आउट हुँदा वेष्ट इन्डिजले १६।१ ओभरमा पाँच विकेट गुमाएर १०४ रन बनाएको थियो । त्यसअघि सागरले आफ्नो दोस्रो बलमै ओपनर एलिक एथानाजेलाई कुशल मल्लबाट क्याच गराउँदै वेष्ट इन्डिजविरुद्ध दबाब बढाएका थिए । १८औं ओभरमा वेष्ट इन्डिजले दुई विकेट गुमाएको हो । हेडन वाल्सलाई ९ रन बनाउँदा कप्तान रोहितले रनआउट गराए । १७.२ मा वाल्स रन आउट हुँदा १७.५ ओभरमा फ्लेचरलाई दीपेन्द्रसिंह ऐरीले लोकस बमबाट क्याच आउट गराएका हुन् ।

बलिङतर्फ स्पिनर सागर र कुशल भुर्तेलले समान दुई विकेट लिएका हुन् । सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीको नाममा समान एक विकेट रह्यो । आकाश चन्द र मल्ल भने विकेट विहिन रहे । बायाँ हाते स्पिनर सागरले चार ओभरमा १९ रन खर्चिएका हुन् । पहिलो खेलमा उनी बेन्चमै थिए । चार ओभर बलिङ गरेका सागरले २३ रन खर्चिएका हुन् । २ ओभर बलिङ गरेको अर्का तिव्रगतिका बलर आकाश चन्द पनि विकेट विहिन रहे ।

दोस्रो खेलमा प्रशिक्षक मोन्टी देशाईले पाँच खेलाडी परिवर्तन गरेका छन् । लोकेस बम, सोमपाल कामी, आरिफ शेख, सागर ढकाल र आकाश चन्दले पहिलो एघारमा स्थान बनाएका छन् । पहिलो खेल खेलेका कमल सिंह ऐरी, अभिनाश बोहरा, विवेक यादव, ललितनारायण राजवंशी र प्रतिश जिसीलाई बाहिर राखिएको छ ।पहिलो खेलमा कप्तान रोहितले एक सय १२ रन बनाउँदा नेपालले वेष्ट इन्डिजलाई नेपालले ४ विकेटले हराएको थियो ।


Recommended For You