वेष्टइण्डिज ‘ए’ले टी–२० सिरिज एक खेलअगावै जित्यो, नेपाल २८ रनले पराजित

काठमाडौं । नेपालले वेष्टइण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज एक खेल अगावै गुमाएको छ। चौथो खेलमा पराजित भएसँगै नेपालले सिरिज ३.१ ले गुमाएको हो।

सिरिजको पहिलो खेल जितेको नेपालले त्यसयता तीन खेलमा लगातार पराजय भोग्यो। पहिलो खेलमा ४ विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा १० र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो । चौथो खेलमा नेपाल २८ रनले पराजित हुँदै सिरिज सुम्पन बाध्य भयो। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा वेष्टइण्डिज ‘ए’ ले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको नेपाल १ सय ८१ रनमा समेटियो।

नेपालका क्याप्टेन रोहित पौडेलले सर्वाधिक ८२ रनको योगदान गरे। आक्रामक बलिङ गरेका रोहितले ४७ बल खेल्दा ७ चौका र ५ छक्का प्रहार गरे। सन्दीप जोरा, गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले समान १९ रन बनाए। कुशल मल्ल ४ र कुशल भुर्तेल एक रनमा आउट हुँदा आसिफ शेख र प्रतिश जिसि शून्यमा पभेलियन फर्किए।

यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको वेष्टइण्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनाएको थियो। उसका आन्द्रे फ्लेचर र जोन्सन चार्ल्सले अर्धशतकीय पारी खेले। ५४ बल खेलेका फ्लेचर ८४ रनमा अविजित रहे। उनले ९ चौका र ४ छक्का प्रहार गरे। चार्ल्सले ५८ रनको योगदान गरे। ३० बल खेलेका उनले ६ छक्का र ३ चौका हिर्काए। फाबिआन एलेनले आउट नभई ३३ रन बनाए। नेपालका कुशल भुर्तेलले २ र प्रतिस जिसिले एक विकेट लिए।

सिरिज अन्तर्गत पाँचौँ तथा अन्तिम खेल शनिबार हुनेछ । आगामी जुनमा आयोजना हुने आईसीसी टी–ट्वेन्टी विश्वकपको तयारीका क्रममा नेपाल र वेष्ट इण्डिज एबीच मैत्रीपूर्ण खेल भइरहेको हो । विश्वकप जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ । विश्वकपमा नेपाल समूह डीमा छ । जसमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्ड्स छन् । वेष्ट इण्डिज समूह ‘सी’ मा छ । यो समूहमा न्युजिल्यान्ड, अफगानिस्तान, पपुवा न्यु गिनी र युगाण्डा छन् ।

 


Recommended For You