काठमाडौँ । टी–२० त्रिकोणात्मक क्रिकेट श्रृंखलाको लिग चरणमा नेपालको अन्तिम खेल नेदरल्याण्ड्ससँग हुँदै छ । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा नेदरल्याण्ड्सले टस जितेको छ । नेदरल्याण्ड्सले पहिले ब्याटिङ रोजेको छ ।
नेपालले टस हारेर पहिले बलिङ गर्दैछ । फाइनलमा पुग्न नेपाललाई यो खेलमा फराकिलो जित आवश्यक छ । नेपालको रन रेट त्यति राम्रो नभएको अवस्थामा नेपालले फाइनल प्रवेशको सम्भावना कायम राख्न फराकिलो जित आवश्यक परेको हो । श्रृंखलामा यसअघिका दुवै खेल जितेर नेदरल्याण्ड्स ४ अंकसहित शीर्ष स्थानमा छ । नेपाल ३ खेलबाट २ अंकसहित दोस्रो स्थानमा छ । नामिबिया ३ खेलबाट २ अंकसहित तेस्रो स्थानमा छ ।
नेदरल्याण्ड्सको रन रेट १.५२५ रहेको छ । नेपालको रन रेट माइनस ०.३१७ तथा नामिबियाको माइनस ०.७०० रहेको छ । यो अवस्थामा नेपालले फराकिलो जित हासिल गर्दा लिग चरणको अन्तिम खेलमा नेदरल्याण्ड्स र नामिबिया भिड्नुपूर्व नै नेपालले फाइनलमा स्थान सुरक्षित गर्नेछ ।
तर यदि नेपाल पराजित भएका खण्डमा वा झिनो जितले भने आइतबार हुने नेदरल्याण्ड्स र नामिबियाबीचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ । नेपालले नेदरल्याण्ड्ससँग झिनो हार बेहोरेको खण्डमा आइतबारको खेलमा नेदरल्याण्ड्सले नामिबियामाथि फराकिलो जित निकाल्दा पनि नेपाल फाइनलमा पुग्न सक्छ । तर नेपालले आजको खेलमा नेदरल्याण्ड्समाथि फराकिलो जित हासिल गर्दा नेपालको रन रेट मजबुद हुँदा स्वत: फाइनलमा पुग्नेछ ।
