काठमाडौँ । कीर्तिपुर मैदानमा जारी नेपाल ए र आयरल्याण्ड ए (वोल्भ्स) बीचको पहिलो एक दिवसीय क्रिकेट खेलमा नेपालले आयरल्याण्डलाई १५७ रनमै समेटेको छ । टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ३८.३ ओभरमा सबै विकेट गुमाएर १५७ रन मात्र बनायो ।
काडे कार्मिचेलले सर्वाधिक ५१ रन बनाए । कप्तान निल रकले ३९ रन बनाए । कमल ऐरीले २१ रन खर्चेर ४ तथा शहाब आलम र मौसम ढकालले २–२ विकेट लिए । त्यस्तै रिजन ढकालले १ विकेट लिए । नेपाल क्रिकेट संघ क्यानका अनुसार तीन खेलको श्रृंखलाको दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुनेछ ।
यसअघि ए टिमले आपसमा तीन खेलको टी–२० श्रृंखला खेलेका थिए । जसमा नेपाल २–१ ले पराजित भएको थियो । नेपालको सिनियर टिम भारतमा अभ्याससहितको एसएमएस च्याम्पियनशिप खेलिरहँदा ए टिमले आयरल्याण्ड एसँग घरेलु मैदानमा अभ्यास गरिरहेको हो ।
