काठमाडौं । एसएमएस फ्रेन्डसिप त्रिकोणात्मक टी–२० सिरिजका लागि भारत भ्रमणमा रहेको नेपालले फाइनलमा गुजरात विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ। नेपालले आइतबार यसअघिको टोलीमा रहेका आकाश चन्द, प्रतिश जिसी, ललित नारायण राजवंशी र अनिल साहलाई बाहिर राखेको छ। पछिल्लो खेलमा बरोडाविरुद्द बेन्चमा रहेका कप्तान रोहित पौडेल, आसिफ शेख, अभिनाश बोहरा र सोमपाल कामीलाई प्लेइङ ११ मा समेटिएको छ। केही समयपछि ब्याटिङका लागि मैदान उत्रिने नेपालले गुजरातलाई जारी प्रतियोगितामा तेस्रो पटक हराउँदै उपाधि जित्ने लक्ष्यमा रहेको छ। गुजरात भने पहिलो पटक नेपाललाई पराजित गर्दै उपाधि जित्ने लक्ष्यमा छ।
सिरिजको लिग चरणमा भएका दुबै खेलमा नेपालले गुजरातलाई हराएको थियो। पहिलो खेलमा ८ विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा ८ रनको जित हासिल गरेको थियो। त्यस्तै, अर्को टोली बरोडालाई पहिलो खेलमा २७ रनले हराएको नेपालले अन्तिम खेलमा भने बरोडासँग ३७ रनले पराजित हुन पुगेको थियो। लिग चरणका चारमध्ये तीन खेल जितेर फाइनल पुगेको नेपाल उपाधि जित्दै ओमान यात्रामा निस्कने तयारीमा रहेको छ।
नेपालसँग हारे पनि गुजरातले बरोडालाई पहिलो खेलमा ५ विकेट र दोस्रो खेलमा ५७ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो। नेपाल ४ खेलमा ३ मा जित १ मा हारसहित शीर्ष स्थानमा रहँदा गुजरात ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा रह्यो। बरोडा ४ खेलमा ३ मा हार बेहोरेर लिग चरणबाटै बाहिरियो। नेपालले अर्को सातादेखि ओमानमा हुने एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको तयारीका लागि भारत भ्रमण गरेको हो। एसिया कप छनोटको आधारका रूपमा रहेको प्रिमियर कपमा नेपाल विजेताको लक्ष्यमा रहेको छ। प्रिमियर कपको विजेताले टी–२० विश्वकपपछि हुने एसिया कप खेल्न पाउने छ। नेपाल भारतबाटै ओमान प्रस्थान गर्ने कार्यतालिका रहेको छ।
