काठमाडौं । ओमानमा हुने एसिसी प्रिमियर कप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी–२० फर्म्याटमा हुने प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।
३० चैतदेखि सुरु हुने प्रिमियर कप ९ वैशाखसम्म चल्नेछ । एसिसी प्रिमियर कपमा नेपाल समूह ’ए’ मा छ । यो समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । यस्तै समूह ’बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।
भारतमा एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिता खेल्न आएको नेपाली टोली उतैबाट ओमान पुग्नेछ । नेपाली टोलीमा कप्तान पौडैलसँगै, कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, प्रतिज जिसी, विवेक यादव, अविनाश बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह छन् ।
