ओलम्पिकमा सहभागी हुन जाने नेपाली टोलीको बिदाइ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ३३औँं गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जाने नेपाली खेलाडीलाई सफलताको शुभकामना प्रदान गर्दै बिदाइ गरेका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले खेलाडीलाई शुभकामनासहित बिदाइ गरेका हुन् । उनले खेल राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम भएको बताउँदै उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न आग्रह गरे । राष्ट्रपति पौडेलले गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी खेलाडीले देशको प्रतिष्ठा उँचो बनाउने विश्वास व्यक्त गरे । उनले दृढ सङ्कल्प र अठोटका साथ ओलम्पिकमा सहभागी हुन खेलाडीलाई सुझाव दिए ।

सोही कार्यक्रममा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकको ‘सेभ द मिसन’ रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरे । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उच्च मनोबलका साथ खेल प्रदर्शन गर्न आग्रह गर्दै सफलताको शुभकामना प्रदान गरे ।खेलाडीको बिदाइ कार्यक्रममा युवा तथा खेलकुदमन्त्री चौधरीसहित नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, ३३औँं गृष्मकालीन पेरिस ओलम्पिकमा नेपालका तर्फबाट प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षकलगायतको सहभागिता थियो ।


Recommended For You