काठमाडौं । युएईमा जारी यु–१९ एसिया कप क्रिकेटमा नेपालले आफ्नो अन्तिम खेलमा अफगानिस्तानमाथि रोमाञ्चक एक विकेटको जित निकाल्दै सान्त्वना सफलता हात पारेको छ।
मंगलबार सम्पन्न खेलमा अफगानिस्तानले टस जितेर ब्याटिङ रोजेपछि ३५.४ ओभरमा मात्र १२३ रन बनाएर अलआउट भयो । जवाफमा नेपाली टोलीले ४१.३ ओभरमा ९ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै जीत दर्ता गर्यो।
नेपाली टोलीका लागि नरेन साउदले २६ रनको महत्वपूर्ण योगदान दिए भने कप्तान हेमन्त धामीले अविजित रहँदै २२ रन बनाए। अर्जुन कुमालले २१ रन जोडे भने अविषेक तिवारीले १३ रन थपे।
बलिङतर्फ नेपालका युनिस ठकुरी उत्कृष्ट रहे। उनले १० ओभरमा तीन मेडन राख्दै २४ रन खर्चेर तीन विकेट लिए। सन्तोष यादवले पनि तीन विकेट हात पारे भने हेमन्त धामी र अविषेक तिवारीले दुई–दुई विकेट लिए। अफगानिस्तानका लागि फैसल खानले ५२ रनको योगदान दिए पनि अन्य ब्याटरले उनलाई पर्याप्त साथ दिन सकेनन्।
नेपालले प्रतियोगितामा यसअघि श्रीलंका र बंगलादेशसँग पराजित भई उपाधि होडबाट बाहिरिएको थियो। यो जितले भने नेपाली टोलीलाई सकारात्मक अन्त्य गर्न मद्दत पुर्याएको छ।
