
काठमाडौँ । काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्धरले अब महानगरको काम सहज रूपमा अगाडि बढ्ने बताउनुभएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईँले पद बहाली गर्नुभएको छ । साढे तीन महिनाभन्दा लामो समयदेखि महानगरमा हाजिर हुन नपाउनुभएका गुरागाईँलाई आज उपमेयर सुनिता डङ्गोल, महानगरका प्रवक्ता नवीन मानन्धरलगायतका जनप्रतिनिधि र कर्मचारीहरुको सहयोगमा हाजिर गराई पद बहाली गरिएको हो । काठमाडौं भ्यू टावरको नक्सापास प्रक्रियामा अनियमितता गरेको महानगर प्रमुख बालेनले गुरागाईँलाई कारबाही गर्नुभएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारीहरुले तीन महिनादेखि तलब पाएका छैनन् । प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले पदबहाली गरेसँगै अब भोलिदेखि वातावरण सहज हुने पनि महानगरका प्रवक्ता मानन्धरले विश्वास व्यक्त गर्नुभयो ।
‘काठमाडौं महानगरपालिकाका कर्मचारी, आम नागरिक र श्रमिक वर्गले समेत तलब, ज्याला नपाएको अवस्थामा भोलिको दिनदेखि उहाँले आम नागरिक र काठमाडौं महानगरपालिकाको कर्मचारीलाई सहज ढंगबाट सेवा दिनुहुन्छ । यसको लागि प्रमुख, उपप्रमुख, कार्यपालिका, नगरपालिका र सम्पूर्ण कर्मचारीहरुलाई सहयोग गर्नेगरी आज उहाँले पद बहाली गरिसक्नु भएको छ,’– उहाँले भन्नुभयो ।
साथै, प्रवक्ता मानन्धरले भोलिदेखि प्रमुख प्रशासकीय अधिकृत गुरागाईँ सहज रुपले कार्यक्षेत्रमा फर्किने बताउनुभयो । महानगर प्रमुख शाहले प्रशासकीय अधिकृत गरागाईँलाई कार्यालयमा प्रवेश गर्न नदिन महानगर प्रहरी खटाउनुभएको थियो । तर, महानगर प्रहरीलाई ब्याक हट्न बाध्य बनाएर केही जनप्रतिनिधि र कर्मचारीहरुले प्रशासकीय अधिकृतलाई हाजिरी गराइसकेका छन् ।